नेपालगन्ज- अविरल परेको वर्षाका कारण नेपालगन्जका अधिकांश भाग डुबानमा परेका छन्। शुक्रबार बिहान परेको वर्षाले नेपालगन्ज उपमहानगरपालिकाको घरबारी टोल, सहिद सेतु बिक चोक, शान्तिनगर, बाँकेगाउँ लगायत स्थानका सयौं घर डुबानमा परेका हुन्।
अधिकांश घरमा पानी पस्दा खाद्यान्न, लत्ताकपडा भिजे
व्यवसायी विष्णु श्रेष्ठका अनुसार अधिकांस कपडा पसलमा क्षति पुगेको छ। 'कम्तिमा पनि ५० वटा पसलमा पानी पसेर क्षति पुगेको छ,' उनले भने। नालाको निकास नहुँदा धम्बोझी र न्यूरोड क्षेत्रको पानी आएर घरबारी टोल डुबानमा परेको उनले बताए।
नेपालगन्जमा निर्माणाधीन ढलको निकास नहुँदा डुबान भएको नगरबासीको भनाइ छ। नेपालगन्जमा एसियाली विकास बैकको सहयोगमा दुई ठूला योजना सञ्चालित छन्। नगरलाई डुबान समस्याबाट मुक्त गराउन भन्दै सञ्चालित एकीकृत शहरी विकास आयोजनाको गलत डिजाइन र निर्माण गर्ने जिम्मा लिएको सिटिसी कालिका जेभी गैर जिम्मेवार हुँदा डुबानमा परेको नगरबासीको आरोप छ।
यस्तै नेपालगन्ज-कोहलपुर चारलेन सडकअन्तर्गत राँझा-जमुनाहा खण्डमा पनि ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनले ठाउँ-ठाउँमा ढल अधुरो छाडेको छ। दुवै आयोजनाले ढल र नालाको निकास नगर्दै वर्षा सुरु भएपछि डुबान भएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए।
डुबान प्रभावित क्षेत्रमा नेपालगन्ज उपमहानगरपालिकाले एक्साभेटर प्रयोग गरेर निकास खोल्न थालेको उनले बताए। उता राप्ती नदीमा पानीको सतह बढ्न सक्ने संकेत देखिएपछि स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अलर्ट रहन अनुरोध गरेको छ।
मनसुन अझै सक्रिय रहेकाले नदीमा बाढी आउनसक्ने खतरा बढेको छ। राप्ती नदीमा पानीको सतह क्रमशः बढ्दै गएको प्रजिअ लेखकले जानकारी दिए। राप्तीको बाढीले हरेकवर्ष होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, वेतहनी, कम्दी लगायत गाविस डुबानमा पर्दै आएका छन्।
Post a Comment